धनगढी । सुदूरपश्चिममा १० अर्ब ७० करोड फण्ड ट्रान्सफर भएको छ।
आर्थिक वर्ष २०७९–८० मा सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका नोटकोषहरु (आठवटा वाणिज्य बैंकमा रहेको तथा १ वटा नेपाल बैंकमा रहेको) मा नेपाल राष्ट्र बैंक धनगढीबाट १० अर्ब ७० करोड फण्ड ट्रान्सफर भएको हो। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा यस प्रदेशमा रहेका नोट कोषहरुमा ९ अर्ब ७२ करोड २८ लाख ५० हजार फण्ड ट्रान्सफर भएको थियो।
नेपाल राष्ट्र बैंक धनगढीका अनुसार प्रदेशका नौ जिल्लामा रहेका नोटकोषहरुमा फण्ड ट्रान्सफर भएको छ। पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर नयाँ (सफा) नोटहरु ८ वटा वाणिज्य बैंक तथा एकवटा नेपाल बैंकमा फण्ड ट्रान्सफर हुँदै आएको छ। नयाँ नोटहरु लैजाने र पुराना नोटहरु राष्ट्र बैंकमा ल्याएर जम्मा गर्ने काम हुँदै आएको नेपाल राष्ट्र बैंक धनगढीकी सूचना अधिकारी अस्मिता गोरखालीले बताइन्।
नोटकोषबाट प्राप्त रकमका आधारमा राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने गरेको छ। विशेष गरी दशैतिहारको समयमा नयाँ नोटको माग सबैभन्दा बढी हुने गरेको छ। यही मौकामा राष्ट्र बैंकले पुराना नोट लिएर नयाँ नोट उपलब्ध गराउने काम समेत गर्दै आएको छ।