२०८१ श्रावण १२
Home Business बैंकको ब्याजदर घटेको घट्यै, कर्जा माग सून्य

बैंकको ब्याजदर घटेको घट्यै, कर्जा माग सून्य

by laganisutra

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, कर्जा प्रवाह सुस्त छ भने भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब (निष्क्रिय) कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकहरूले देखाएका छन् ।

‘निक्षेप बढिरहे पनि कर्जा माग निकै सुस्त छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘अर्थतन्त्रमा शिथिलता रहेकाले उद्योग व्यवसाय, पूर्वाधार क्षेत्रबाट पनि नयाँ कर्जा माग आएको छैन । प्रतितपत्र खुल्ने क्रममा पनि कमी आएको छ ।’ ब्याजदर घटिरहेका बेला कर्जा माग स्वतः रूपमा बढ्नुपर्नेमा अर्थतन्त्रमा शिथिलता कायमै रहेकाले यस्तो अवस्था आएको उनले बताए ।

गएको एक वर्षयताको तथ्यांक हेर्दा बैंकहरूको कर्जाको औसत ब्याजदर करिब २ प्रतिशत बिन्दुले घटिसकेको छ । गत माघसम्म वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.०८ प्रतिशत छ । ०७९ माघमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत थियो । सामान्यतया कर्जाको ब्याजदर घट्दा कर्जा प्रवाह बढ्नुपर्ने हो । तर, निजी क्षेत्रमा थप लगानी गर्ने उत्साह नहुँदा कर्जा माग घटेको र यसले समग्र अर्थ व्यवस्थामा असर पारेको विज्ञहरू बताउँछन् ।

पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले निरन्तर रूपमा निक्षेपको ब्याजदर घटाइरहेका छन् । निक्षेपको ब्याज घट्दा बैंकहरूको आधार दर घटेको छ भने त्यसले कर्जाको ब्याजदरमा पनि कमी ल्याएको छ । राष्ट्र बैंकका अनुसार गत माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.०१, विकास बैंकहरूको ८.२६ र वित्त कम्पनीहरूको ९.४५ प्रतिशत छ । ०७९ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम थियो । त्यसो त चैतका लागि पनि अपवादबाहेक सबै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याज घटाएका हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने छ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले बुधबार आगामी चैतका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये एनआईसी एसियाबाहेक सबैले फागुनको भन्दा चैतमा ब्याजदर घटाएका छन् । एनआईसी एसियाले भने यही फागुनको तुलनामा चैतमा ०.५४ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । तर, प्रभु र ग्लोबल आईएमई बैंकले भने ब्याजदर स्थिर राखेका छन् । नयाँ ब्याजदरअनुसार चैतमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनआईसी एसियाको ८.५४ प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकको ५.६६ प्रतिशत छ । निक्षेपको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वतः घट्नेछ । राष्ट्र बैंकका अनुसार ०८० माघमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.०६, विकास बैंकहरूको ११.१३ र वित्त कम्पनीहरूको १२.७० प्रतिशत छ । गत वर्षको माघमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.७२ प्रतिशत थियो ।

‘अहिले बैंकहरूको मुख्य समस्या कर्जा माग घट्नु र निष्क्रिय कर्जा (एनपीए) बढ्नु हो,’ बैंकिङ विज्ञ परशुराम कुँवर क्षेत्रीले भने, ‘अर्थतन्त्रमा रहेको सुस्तताले यी समस्या आएका हुन् ।’ आर्थिक शिथिलताका कारण निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन । यसको असरले कर्जाको माग बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए । ‘निजी क्षेत्रको आत्मविश्वास बढाउने खालका गतिविधि न त सरकारले गरेको छ न त ठूलो परिमाणमा पुँजीगत खर्च बढाएर उनीहरूलाई लगानी बढाउन प्रोत्साहन नै गरेको छ,’ उनले थपे, ‘यद्यपि पछिल्ला दिनहरूमा प्रधानमन्त्री र अर्थमन्त्रीले निजी क्षेत्रलाई धरपकड गर्दैनौं भनेका कुरा सुन्नमा आएको छ । यद्यपि लामो समयदेखि खस्किएको निजी क्षेत्रको मनोबल बढाउन मन्त्रीहरूको मौखिक भनाइ मात्र पर्याप्त हुँदैन ।’

ब्याजदर निरन्तर घटिरहेको र अझै घट्ने संकेत देखिएकाले बैंकहरूमा अब ब्याजदरको समस्या नरहेको पनि उनले बताए । ‘एक वर्षभन्दा बढीको निक्षेपको ब्याजदर बल्ल भारतीय बैंकहरूको तुलनामा समान तहमा पुगेको छ,’ कुँवरले थपे, ‘अहिलेको समस्या कर्जाको माग बढ्न नसक्नु र निकट भविष्यमा बढ्ने संकेत पनि नदेखिनु हो ।’ बढ्दो निष्क्रिय कर्जाले बैंकको नाफा घट्छ, प्राथमिक पुँजीमा चाप पर्छ, कर्जा प्रवाह क्षमतामा कमी आउँछ र आफ्ले दिएको कर्जा नउँठदा थप कर्जा प्रवाहमा उत्साह नहुने उनले बताए ।

गत साउनदेखि यही फागुन २६ सम्म बैंक तथा वित्तीय संस्थामा ४ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह २ खर्ब ११ अर्ब रुपैयाँ मात्र छ । माघसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले थियो । गत वर्षको माघसम्म यस्तो कर्जा १ खर्ब ४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ ।

यस्तै, गत माघसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ५३ अर्ब ९७ करोड (५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.