२०८१ श्रावण ४
Home EconomyNational जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नैपर्छ : सुनिता डंगोल

जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नैपर्छ : सुनिता डंगोल

by laganisutra

काठमाडौं । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले बताएकी छन् । स्वास्थ्य संस्थाहरुबाट उत्पादन भएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाका बारेमा जानकारी दिँदै उनले भनिन्, ‘अहिलेसम्म ६ वटा अस्पतालको अभ्यास हेर्यौँ । सबैमा केही न केही काम भएको छ । कार्य सञ्चालन प्रणाली केही उस्तै र केही फरक भेटिएका छन् । कसैको अलिअलि सुधार गर्नु पर्ने देखिन्छ । कसैको धेरै नै सुधार गर्नु पर्ने देखिएको छ ।’ यसरी देखिएको विविधतालाई एउटै बनाउन तोकिएको रङ्गका बाल्टिन राखेर स्रोतबाटै फोहोरलाई वर्गीकरण गर्नु पर्ने उहाँले बताउनुभयो । जोखिमयुक्त फोहोरलाई निर्मलीकरण गरिसकेपछि फेरि वर्गीकरण गर्नु पर्छ । यसमा सबैले काम गर्नु पर्ने देखिएको छ । डंगोलको भनाइ छ ।

आज उनको नेतृत्वमा थापाथलीमा रहेको नर्भिक अस्पताल र प्रसुति गृहको अनुगमन गरिएको थियो । नर्भिक अस्पतालबाट गएको पुस महिनामा ३ हजार ७४० किलोग्राम हानीकारक फोहोर उत्पादन भएको थियो । जसमध्ये १ हजार ८५२ किलोग्राम डाइपर तथा प्याडजन्य, ३५ किलोग्राम साइटोटोक्सिक (क्यान्सर उपचारका क्रममा उत्पादन भएको फोहोर), ३७६ किलोग्राम प्रयोगशालाजन्य, १६ किलो शारीरिक, १ हजार २१० किलोग्राम पञ्जा, कटन र गज, ८७ किलोग्राम सुई, १७० किलोग्राम फुटेका भाइलहरु र १३७ किलोग्राम सिरिञ्जजन्य फोहोर संकलन भएको थियो । यसप्रकारको फोहोरलाई छुट्टाछुट्टै संकलन र ढुवानी गर्ने र अटोक्लेभमा राखेर निर्मलीकरण गर्ने गरेको देखियो । फोहोर व्यवस्थापनका इञ्चार्ज कृष्ण नेपालीकाअनुसार त्यस महिनामा ३ हजार ५९६ किलोग्राम सामान्य फोहोर उत्पादन भएको थियो । त्यसमा ५९७ किलोग्राम कागज, ६२ किलोग्राम प्लाष्टिक, २४१ किलाग्राम बोतल र क्यान, ३६० किलोग्राम सिसाजन्य र २ हजार ३३६ किलोग्राम कुहिने फोहोर संकलन भएको थियो ।

प्रसुति गृहमा दैनिक ४ सय किलोग्राम फोहोर उत्पादन हुने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये २५९ किलोग्राम निष्कासन गर्ने फोहोरको मात्रा हो । १४६ किलोग्राम पुनःप्रयोग योग्य फोहोर हुन्छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका इञ्चार्ज भवानी खड्काका अनुसार दैनिक ३५ देखि ४० किलोग्रामसम्म सालनाल आउँछ । यसबाट बायोग्याँस उत्पादन गरिएको छ । खड्का अनुसार गएको मंसिर महिनामा ५ हजार ४ सय किलोग्राम फोहोर विक्री योग्य थियो । ७ हजार ९८० किलोग्राम कन्टेनरमा पठाउने संकलन भएको थियो । त्यस महिनामा १ हजार ५० किलोग्राम सालनाल उत्पादन भएको थियो ।

बुधबार टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र त्रिपुरेश्बरमा रहेको ब्लु क्रस अस्पतालको अनुगमन गरिएको थियो । वरिष्ठ इञ्जिनियर निशा कोइरालाका अनुसार सरुवा रोग अस्पतालमा अहिले विरामीको संख्या न्यून भएकोले फोहोर उत्पादनको मात्रा पनि कम छ । अस्पतालले रातो बाल्टिनका प्रयोग गर्नु पर्ने, ढल खुला बगेको छ । त्यसलाई छोप्नु पर्ने, तरल फोहोर प्रशोधन गर्नु पर्ने, फोहोर बोक्ने ट्रली व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ ।

ब्लु क्रम अस्पतालमा फरक फोहोर राख्न फरक बाल्टिन राखिएको तर, तोकिएको रङ्ग भएका बाल्टिन नराखिएको अवस्था छ । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठ भन्नुहुन्छ, ‘एउटा विरामी वा उसका आफन्तले फरक फरक अस्पताल जानुपर्छ । एउटै रङ्ग भएका बाल्टिन भए उनीहरुले फाल्ने फोहोर पनि सही भाँडामा पर्छ । नत्र फोहोर मिसिने खतरा रहन्छ ।’ अस्पतालले फोहोर भण्डारण कक्षलाई सुधार गर्नु पर्ने अनुगमन टोलीले सुझाव दिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.