२०८१ श्रावण १२
Home Economy ६ महिनामा ३० प्रतिशत राजस्व संकलन

६ महिनामा ३० प्रतिशत राजस्व संकलन

by laganisutra

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा वार्षिक लक्ष्यको जम्मा ३० प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षका लागि भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलनको लक्ष्य दिएको छ । विभागले आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म ६३ अर्ब १० करोड २७ लाख ९७ हजार राजस्व संकलन लक्ष्य तोकेको थियो ।

तर भन्सार कार्यालयले पुस मसान्तसम्म जम्मा ३९ अर्ब १४ करोड १२ लाख ३३ हजार अर्थात् ३० दशमलव ६२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले मंसिर पुस महिनामा अन्य समयभन्दा कम राजस्व संकलन हुने भएकाले ६ महिनामा कुल लक्ष्यको ३० प्रतिशत मात्र राजश्व संकलन भएको बताउनुभयो ।

भन्सार विभागले गत आर्थिक वर्ष २०७९–८० का लागि एक खर्ब ५५ अर्व ६० करोड ३८ लाख ७९ हजार राजस्व संकलनको लक्ष्य तोकेकोमा ४९ दशमलव ४१ प्रतिशत मात्र राजस्व संकलन भएपछि चालु आर्थिक वर्षका लागि घटाएर लक्ष्य तोकिएको थियो ।

विभागले घटाएर लक्ष्य तोकिदिए पनि ६ महिनामा भएको राजस्व संकलनको परिमाण हेर्दा भन्सार कार्यालयलाई लक्ष्य पूरा गर्न चुनौती देखिएको छ । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार आर्थिक वर्षका सुरुका तीन महिना राजस्व संकलन राम्रै देखिए पनि कात्तिक, मंसिर र पुसमा अपेक्षाकृत राजस्व संकलन हुन सकेन ।

पहिलो साउन महिनामा ६ अर्ब ४९ करोड पाँच लाख ३१ हजार राजस्व संकलन गर्दै ७८ दशमलव ३० प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयले सबैभन्दा थोरै कात्तिक महिनामा जम्मा ४२.०९ प्रतिशत राजस्व संकलन गरेको छ ।

विभागले कात्तिकमा १० अर्ब ६७ करोड ९२ लाख ७१ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा जम्मा चार अर्ब ४९ करोड ४८ लाख ३९ हजार रुपियाँ संकलन भएको थियो ।

त्यस्तै, कार्यालयले भदौमा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशत, असोजमा ७३ दशमलव ३१ प्रतिशत, मंसिरमा ५५ दशमलव ७८ प्रतिशत र पुसमा ५७ दशमलव ९६ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ ।

भन्सार कार्यालयले आर्थिक वर्ष २०७३–७४ सम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दैआएको थियो । त्यसयता २०७७–७८ मा लक्ष्यको ११३ प्रतिशतसम्म राजस्व संकलन गरेको कार्यालयले अन्य कुनै पनि वर्षमा भने लक्ष्य पूरा गर्न सकेको छैन ।

गत आर्थिक वर्ष २०७९–८० मा त पछिल्लो आठ वर्ष यताकै सबैभन्दा कम ४९ दशमलव ४१ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । रकमका हिसाबले भने चालु वर्षको ६ महिनामा गत वर्षको ६ महिनाभन्दा पनि चार अर्ब बढी राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।

गतवर्ष पुस मसान्तसम्म ३५ अर्ब ४४ करोड २२ लाख ५५ हजार राजस्व संकलन भएको थियो । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार बेलहिया नाका हुंदै हुने आयात खुम्चिदा विभागले तोकिदिएको लक्ष्य पूरा नभएको हो ।

कार्यालयका अनुसार विगतका वर्षहरुमा सबैभन्दा बढी आयात हुने र राजस्व संकलनमा मुख्य योगदान दिने वस्तुहरुको आयात पछिल्ला वर्षमा न्यून हुँदा राजस्व संकलनमा ह्वात्तै गिरावट आएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.