काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रेटिङ एजेन्सी एम् बेस्टबाट हालै मात्र प्राप्त गरेको बी पलस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ ।
सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ । सो देशहरूमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुने कम्पनीले जनाएको छ ।
भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक एफआरएन नम्बर प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्ष भित्रै भारतबाट अन्दाजी एक करोडरुपैयाँ बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ ।
तेश्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर जाने जसको कारणले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखाएको छ ।