काठमाडौं । गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।
आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।
समाजका संरक्षक काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढि अधिकृत कर्मचारीहरुको सहभागिता थियो ।
हाल जिल्ला भित्रका अधिकृतहरु संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर बृहत कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायण दत्त भण्डारीले बताए ।
सोही अवसरमा गठन भएको सो समाजको तदर्थ समितिको पदाधिकारीहरुमा अध्यक्ष गोबिन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणय दत्त भण्डारी, सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल सचिव दिपक कुमार के।सी।, दक्षिणकाली नगरपालिका, काठमाडौं, सह–सचिव सुजन कुमारी बर्देवा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं कोषाध्यक्ष लता महत, नागार्जुन नगरपालिका, काठमाडौं सदस्य भूमिराज भूसाल, को।ले।नि।का।, सुन्धारा, सदस्य गीता पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाडौं, सदस्य तिलक राज बोगटी, आन्तरिक राजश्व कार्यालय, ठमेल, सदस्य कुल प्रसाद पराजुली, श्री प्रकाश दुलाल, नापी कार्यालय, मनमैजु, सदस्य अनुपम पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाडौ सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार सदस्य शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् ।
दक्षिणकालीमा एक पिकनिक कार्यक्रमको समेत आयोजना गरि उक्त समिति गठन गरेको हो ।
Economy
काठमाडौं । मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।
काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिना (साउनदेखि फागुनसम्म) मा नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणमध्ये ११ अर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण हो भने १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा नेपालको सार्वजनिक ऋण १ अर्ब ४९ करोड रुपैयाँले बढेको छ। त्यस्तै, फागुन महिनामा नेपालले आन्तरिक ऋणतर्फ १६ अर्ब ५३ करोड रुपैयाँ र ३ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ । यही अवधिमा नेपालले आन्तरिक रुपमा १३ अर्ब र १ अर्ब ८६ करोड बाह्य ऋण गरी कुल १४ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ ।
नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेसँगै प्रत्येक नेपालीको भागमा ८१ हजार ८ सय ८९ रुपैयाँ पुगेको छ । यस्तो प्रतिव्यक्ति ऋण नेपालको कुल सार्वजनिक ऋणलाई २०७८ सालको कुल जनसंख्याले भाग गरेर निकालिएको हो ।
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १५ सय २० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ ।
यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ ।
काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो ।
साताको पहिलो कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज चैत ४ गते आइतबार सुनको भाउ घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कैलाली । कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी आउँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र विकले जानकारी लिए ।
दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो । घोडाघोडी र लम्की चुहा नगरपालिकाको दमकल चाँडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
लाइटरसहित खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ ।
बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैन : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थसिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।
शनिबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राजधानीमा आयोजना गरेको ‘म्यानेजमेन्ट समिट–२०२४’लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तिय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे ।
बैंकहरूलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने पनि उनले स्पष्ट पारे । ‘बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिनँ भनेर हिँड्ने प्रवृत्ति छ,’ उनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कपादी स्वीकार्य हुन सक्दैन ।
मन्त्री पुनले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको भन्दै नेपालमा बैंकहरू जत्तिको व्यवस्थित रुपमा सञ्चालित अन्य कुनै संस्था नरहेको चर्चा गरे । ‘नेपालमा यदि कुनै संस्था व्यवस्थित रुपमा सञ्चालनमा छ भने त्यो बैंकिङ क्षेत्र हो । यो हामीले भनेको होइन । अन्तर्राष्ट्रिय संस्थाहरुले अध्ययन गरेर निकालेको निष्कर्ष हो।’ मन्त्री पुनले भने
कुनै बैंकरले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट पार्दै उनले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरे ।
मन्त्री पुनले भने, ‘एउटा व्यक्तिले गल्ती गर्दा सिंगै परिवार र संस्थालाई दोषी करार गर्ने प्रवृत्ति समाजमा घातक रूपमा अघि आएको छ । बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन्। तर सबैलाई आरोपित गर्न मिल्दैन ।’
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।
महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।
सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ ।
महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् ।
विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको महानगरपालिकाले जनाएको छ ।