Saturday, October 5, 2024
Home NEWS बाढी पहिरोमा परेर देशभर १७ विद्यार्थीको मृत्यु

बाढी पहिरोमा परेर देशभर १७ विद्यार्थीको मृत्यु

by laganisutra

काठमाडौँ । भारी वर्षापछि आएको बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको  हो ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको बताए । अधिकांश पहिरोमा पुरिएर मृत्यु भएकाहरू छन् ।

बुटवलको कालिका मानवज्ञान माविका दुई विद्यार्थी झ्याप्लेखोलोको पहिरोमा पुरिएको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ आउँदै गर्दा जुम्ल्याहा दिपेश अधिकारी र दिपिका अधिकारीको मृत्यु भएको हो । कक्षा १० मा अध्ययनरत दुवै जनासँगै आमा सीता भट्टराईको समेत पहिरोमा पुरिएर मृत्यु भएको हो ।

त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बत्सलादेवी माविको छात्रावासमा रहेका ६ जना विद्यार्थीको समेत पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यस्तै बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत एक छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविका २ जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको छ । काभ्रेपलाञ्चोककै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ् माविमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नरगपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परी आफ्नै घरमा मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कुलमा अध्ययनरत एक विद्यार्थीको घर भत्किदा मृत्यु भएको शिक्षा मन्त्रालयले संकलन गरेको क्षतिको विवरणमा उल्लेख छ ।

बाढी पहिरो तथा डुबानका कारण देशभरका १३४ विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयले जनाएको छ । तराई मधेसका सप्तरी, सिराह, सर्लाही, पर्साका विद्यालय डुबानमा परेका छन् । डुबानबाट साढे १० हजार भन्दा बढी विद्यार्थी प्रभावित बनेका छन् । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft