काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल तथा राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्ट बारे कार्यवाहक महामन्त्रीले ब्रिफिङ गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै, बैठकमा राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल, राष्ट्रिय भेलाको हालसम्मको तयारीबारे सबै उपसमितिद्वारा प्रस्तुत र छलफल हुने उनले जानकारी दिए । त्यसैगरी, बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत हुने र प्रस्तावित नियमावली र कार्यविधिमाथि छलफल हुने उनले बताए ।