काठमाडौं l कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज १० गतेदेखि परेको अविरल वर्षाले तीन अर्ब ५० करोड बराबरको धानबाली नष्ट भएको जनाएको छ ।
मन्त्रालयले मंगलबार तथ्यांक सार्वजनिक गर्दै नीत दिनसम्म लगातारको वर्षाले ५८ हजार ४७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड बरावरको क्षति भएको जनाएको हो ।
मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा धानबाली नष्ट भएको छ ।
अविरल वर्षाले खोटाङामा एक हजार तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची खेती नष्ट हुँदा ७० करोड बरावरको क्षति भएको पनि जनाएको छ ।
यस्तै पर्सामा ८५ हेक्टर क्षेत्रफलमा लगाइएको उखु नष्ट हुँदा ३४ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
वर्षापछि आएको बाढीका कारण धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा माछापोखरीमा क्षति हुँदा एक अर्व १३ करोड बराबरको क्षति भएको छ ।
पाँचथर, धनकुटा र तेह्रथुममा २४ पशुगोठमा क्षति भएको छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेश प्रदेशका सबै जिल्लामा २६ हजार २०५ पशुपन्छी मरेका छन् ।