Friday, October 18, 2024
Home Sports हङकङविरुद्ध नेपालको फराकिलो जित

हङकङविरुद्ध नेपालको फराकिलो जित

by laganisutra

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालले सहज जित निकालेको छ। ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल आठ विकेटले विजयी भएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ११४ रन बनाएर अलआउट भएको थियो। ओमानको अल अमिरात क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा हङकङ एक बलअगावै अलआउट भएको हो। १२।२ ओभरमा दुई विकेट गुमाएर नेपालले ११७ रन बनाएर लक्ष्य पूरा गरेको हो।

हङकङका लागि अन्सी राथले सर्वाधिक ३४ रन जोड्दा जिसान अली १४, निजाकत खान १२ र एहसान खान ११ रन बनाएर पेभेलियन फर्किए। हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्न अविनाश बोहराले तीन विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए। चार ओभर बलिङ गरेका ललित निकै किफायती साबित भए। उनले एक मेडन गर्दै १४ रन मात्र खर्चिए।

नेपालको जितमा ओपनर आशिफ सेखले सर्वाधिक ४० रन बनाउँदा कुशल भुर्तेलले ३२ रन बनाए। आशिफले तीन चौका र तीन छक्का तथा भुर्तेलले तीन चौका र दुई छक्का हानेका थिए।

ओपनरद्वय पेभेलियन फर्किएपछि क्रिजमा आएका रोहित पौडेल र सन्दीप जोराले नटआउट क्रमशः २५ र १९ रनको योगदान गरे।

पहिलो खेलमा नेपाल मलेसियाविरुद्ध पाँच विकेटले विजयी भएको थियो। शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft