काठमाडौं l सत्तारुढ दल कांग्रेसका सांसदले गिरीबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्। कांग्रेस सांसद हृदयराम थानीले अघिल्लो सरकारको पालामा प्रतिपक्षले उठाउँदै आएको गिरीबन्धु जग्गालगायतमा भएका भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकलाई सोधेका हुन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सांसद थानीले विगतमा सदनमा उठाएका भ्रष्टाचारका मुद्दाबारे अनुसन्धान भइरहेको छ कि छैन भनेर प्रश्न गरेका हुन्। ‘भ्रष्टाचारका काण्ड उठेका छन्। गिरीबन्धु कहाँ पुगेको छ? क्यान्टोनमेन्ट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ?,’ थानीले सोधे। यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन भनेर उनले प्रश्न गरेका छन्।
समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै गृहमन्त्री रमेश लेखक उपस्थित भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका लागि प्रधानमन्त्री समितिमा आउने कुरा भएपनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको थियो।
विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले काम गर्नुपर्ने बताए। मुलुकमा अति हुन नदिनका लागि कदम चाल्नका लागि उनले सुझाव दिए। अति भएमा बिस्फोट हुन्छ भन्ने कुराको ख्याल राख्न सुझाउँदै थानीले भने, ‘सरकारमा बसेर सबै ठीक छ भन्नेमा नठान्नुहोस्।’
व्यवस्था बदलिएर पनि जनताको अवस्था बदल्न नसकेकाले जनता निराश रहेको कुरा सरकारले ख्याल राख्नुपर्ने थानीको भनाइ थियो। उनले सरकारी कार्यालयमा चिनजानको अधिकारी नभएमा कागज एक टेबुलबाट अर्को टेबुलमा नसर्ने गरेको आफ्नै अनुभव रहेको बताए। सांसदको अवस्था नै त्यस्तो रहेकोमा सर्वसाधारणको अवस्था के होला? भन्ने उनको जिज्ञासा थियो।
कांग्रेसकै सांसद सरिता प्रसाईंले भ्रष्टाचार नियन्त्रण नभएको बताएकी छन्। कानुन सबैलाई लाग्नुपर्ने बताउँदै उनले कानुनभन्दा माथि कोही नभएको कुरा हुनुपर्ने बताए।