काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूँमाथि भएकाे प्रहारलाई सामान्यकृतरूपमा लिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्ताे आग्रह गरेका हुन् l
लामिछानेले रास्वपाकै नेतृत्वका सरकार नबन्ने बेलासम्म, रास्वपाले बहुमत नल्याउँदासम्म यस्ता समस्या आई नै रहने उनले बताए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संसदीय समितिले उनी स्वयमलाई समेत कारबाही गर्न सिफारिस गरेको भोलिपल्ट आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु, यो समस्या त हुन्छ नै हुन्छ । जबसम्म हुन्छ, तबसम्म रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाउँदैन । जबसम्म बहुमत प्राप्त गर्दैन या दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन तबसम्म यी समस्या त आई नै रहन्छन् ।’
लामिछानेले ठुला सपना देख्नेमाथि ठुलै प्रहार र आक्रमण हुनु स्वभाविक भएकाे बताए । ‘हाम्रा सपना पनि ठूला छन्, हामीले चाल्ने कदम पनि ठूलै हुन्छ । हामी माथिको प्रहार र आक्रमण पनि त्यहीअनुसार ठूलै हुन्छ साथी हो’, उनले भने, ‘आज यो हलमा तपाईंहरु सबैलाई तयार रहनका लागि अनुरोध गर्न चाहान्छु ।’