राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीहरूलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।

नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतमबुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको जानकारी दिए । नेपाल–जापानबीचको जनस्तरमा समेत सम्बन्ध सुदृढ रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकामा उनले सन्तोष प्रकट गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह