कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस

काठमाडौं l ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।

सीआईबीले मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ।

यसमा सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ। जसमध्ये ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सीआईबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखाले यसबारे अध्ययन एवं रूजु गरी आवश्यक परे थप कागजात सीआईबीसँग झिकाउनेछ। कागजातहरू सबै पुगेमा रेड कर्नर नोटिस जारी गर्न शाखाले इन्टरपोलमा पत्राचार गरेपछि मात्रै जारी हुनेछ।

रेड कर्नर नोटिस सिफारिस भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्। यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो।

ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेका थिए।

Related posts

जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

छविलाल जोशीसँग आज पनि बयान सुरु