नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, २५ अर्बले घट्यो मुद्रा सटही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले देशभर २९ अर्ब र  उपत्यकामा मात्र  साढे १४ अर्ब  नयाँ नोट सटही गरेकोमा यस वर्ष करिब ४ अर्ब रुपैयाँमा सिमित रहेको छ । यो झण्डै २५ अर्ब रुपैयाँले कम हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब २ अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ ।

पुराना नोट थिचिएर तथा ओसिएर स्वतः नष्ट हुँदै जाने भएकाले प्रयोग गर्न सकिने हदसम्म चलन चल्तीकै नोट उपयोग गर्न सकियोस् भनी यसपटक नयाँ नोट नछापिएको उनको भनाइ छ ।

उनी भन्छन्-  ‘नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छ भने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झण्डै डेढ अर्ब खर्च लागेको थियो ।’

‘देशभर ६६ लाख घरपरिवार छन् । त्यसमा ५० प्रतिशत अर्थात् ३३ लाख परिवारलाई नयाँ नोट सटहीको पहुँच नभए पनि आधाका लागि विभिन्न दरका नोट छाप्न छ अर्बसम्म खर्च हुन्छ । ‘उनले भने

यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी हाल चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको उक्त नीतिअनुरुप यस वर्षको दसैँतिहार लगायतका चाडबाडमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुनेछ ।

नयाँ नोट दसैँतिहारजस्ता पर्वमा मात्र अत्याधिक माग हुने तथा त्यसपछि बैकका ढुकुटीमा थुप्रिएर बस्ने भएकाले त्यस्ता जम्मा भएका नोटको सदुपयोग गर्ने र नोट छपाईका लागि लाग्ने फजूल गर्न राक्ने राष्ट्र बैँकले सुकिला नोटको प्रयोगलाई प्रोत्साहन गरेको हो ।

भट्टराईका अनुसार प्रत्येक वर्ष चाडबाडमा नयाँ नोट छापिने तथा घुमिफिरी ती नोट बैंकको ढुकुटीमा थुप्रिने क्रम बढेपछि बैँकले यस वर्ष चल्ने हदसम्म त्यस्ता नोटको सदुपयोग गर्ने निर्णयमा पुगेको हो ।

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…