सडक सञ्चालन नभएसम्म अधिकतम भाडा नलिने वायुसेवा संघको निर्णय

काठमाडौं । वायुसेवा सञ्चालक संघले सडक सञ्जाल सहज रूपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ ।

संघको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो ।

‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै संघले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ,’ संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हवाई भाडा महङ्गो भएको नागरिकस्तरबाट गुनासो आएपछि संघको आईतबारको बैठकले सोमबार, मंगलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरे । बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध हुँदा हवाइ उडानमा यात्रुको चाप बढेको छ ।

आईतबार र सोमबार उडान चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

Related posts

१२ करोड लागतमा ट्रमा सेन्टर निर्माण हुँदै

मेक्सिको सेनाले गोली चलाएको घटनामा नेपाली मारिएका छैनन्ः दूतावास

चाडपर्वलक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन