उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाको धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पु¥याउँदा आपूर्ति प्रभावित भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषका अनुसार काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको छ ।

बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् ।

त्यस्तै, पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रीधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् । नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् ।

प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जतिसक्दो छिटो सुचारु गर्न टोली खटिएको बताए । तर, धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको उनले बताए ।

Related posts

सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक

च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा