सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

प्रहरीले जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा लगेको हो। जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरि साँझ पोखरा लगिएको थियो। पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको हो।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो।

कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका छन्।

‘सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा गत वर्ष पहिलो चरणको अनुसन्धान टुंग्याएर मुद्दा अदालत पुगेको थियो,’ उनले भने, ‘त्यसपछि पूरक जाहेरी र पोखरा महानगरपालिकाको प्रतिवेदनपछि दोस्रो चरणको अनुसन्धान जारी थियो । संसदीय समितिको प्रतिवेदन पनि आइसकेको छ। त्यही क्रममा कसुरमा संलग्न थप मानिस अनुसन्धानका लागि तानिएका हुन्।’

बचतकर्ता सर्वसाधारणले दिएको पूरक जाहेरीलाई तत्कालीन गृहमन्त्री लामिछानेले दबाएका थिए साथै उनले अनुसन्धानमा पनि अवरोध गरेपछि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। समितिले गोर्खा मिडियाका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिएको थियो।

Related posts

किन विवादित बन्यो अपी पावरको लाभांश ?

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

नागरिकताभन्दा राहदानी लिने धेरै