आइएमई र जीएमई गाभिएर एकीकृत कारोबारको शुभारम्भ

काठमाडौँ । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

मर्जरपछि बनेको आइएमईको चुक्ता पूँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए ।

डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।

सोही अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे ।

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेका हामीहरूले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो, अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी पनि गराए ।

रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विश्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सो अवसरमा एकीकृत कारोबार पश्चात् आइएमई लिमिटेडका अध्यक्ष बनेका हेमराज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक–आर्थिक रूपान्तरणको संवाहक बनेको आइएमईले अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा