रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको छ । योग्य संस्थागत लगानीकर्ताहरूमा गत माघ १० गतेदेखि १४ गतेसम्म आईपीओ बिक्री गरी माघ १४ गतेनै कटअफ मूल्य निर्धारण गरेको कम्पनीले असार १२ गते सर्वसाधारणमा आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तामा ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बिक्री गर्दा कटअफ मूल्य प्रतिकित्ता ९१२ रूपैयाँ निर्धारण भएको थियो । योग्य संस्थागत लगानीकर्तामा बिक्री गर्दा निर्धारण भएको कटअफमूल्यबाट १० प्रतिशत मूल्य घटाएर कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न अनुमति पाएको हो ।

बोर्डले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले ९४ करोड ८८ लाख ११ हजार ९६८ रूपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति प्रदान गरेको हो । सर्वसाधारणमा बिक्री हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता शेयर कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गर्न लागेको हो ।

पहिलो चरणमा जारी भएको शेयर सम्पूर्ण कित्ता विक्री नभएमा दोस्रो चरणमा सार्वजनिक निष्कासन गर्दा थप भएर बिक्री गरिनेछ । योग्य वैदेशिक रोगजारीमा रहेका नेपाली नागरिकले साउन १० गतेसम्म यो शेयर खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीले बुक विल्डिङ बिधिबाट आईपीओ निष्कासन गरेकाले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर रेटिङ नेपालले केयर एनपी ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न प्रयाप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ ।

नेपालमा लागू भएको बुक विल्डिङ विधिबाट दोस्रो कम्पनीको रुपमा यस कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । यस अघि सर्वोत्तम सिमेन्ट्सले यो बिधिबाट आईपीओ निष्कासन गरेको थियो । यो बिधिबाट आईपीओ निष्कासन गर्ने कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम ४० प्रतिशत आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा ६० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।

२०५२ साल भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागोहरु उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम, युके लगायतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।

यस कम्पनीको अध्यक्षमा पवन गोल्यान रहेका छन् । यो कम्पनी नाफामै सञ्चालनमा रहेको छ । गत आर्थिक वर्ष ०७९र८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार ५ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने ५३ लाख २१ हजार रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।

Related posts

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

सोह्रखुट्टे,बालाजु सडक भासियो, पर्‍यो ११ फिट गहिरो खाल्डो

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल