डिजिटल कारोबारमा फड्को, वालेट र क्यूआरबाट हुने भुक्तानीमा उछाल

काठमाडौं । पछिल्लो समय डिजिटल कारोबारले निकै फड्को मारेको छ। सामान्य पसलदेखि ठूलठूला व्यापार–व्यवसायमा डिजिटल कारोबार गर्दै आएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार डिजिटल कारोबारको माध्यममध्ये एक क्यूआरबाट हुने कारोबारमा उछाल आएको छ। पछिल्लो एक वर्षको अवधिमा क्यूआरबाट हुने भुक्तानी पनि ११२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघसम्म क्यूआरबाट १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएकोमा यो वर्ष माघसम्म बढेर ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै वालेटबाट हुने कारोबारमा उल्लेख्य वृद्धि आएको छ। पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने पनि विभिन्न वालेटबाट हुने कारोबार करिब ४० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको माघसम्म वालेटबाट २३ अर्ब ८७ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष माघसम्म वालेटबाट १७ अर्ब ११ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

चालु आर्थिक वर्षको माघसम्म मोबाइल बैंकिङबाट २ खर्ब ८९ अर्ब ३८ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष माघसम्म १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६८ प्रतिशतले बढेको छ।

त्यस्तै इन्टरनेट बैंकिङको प्रयोग पनि बढिरहेको छ। अघिल्लो वर्षसम्म इन्टरनेट बैंकिङबाट १२ अर्ब ४१ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएमा यो वर्ष माघसम्म १३ अर्ब ७८ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

चालु आर्थिक वर्षको माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता बढेर २ करोड ३५ लाख ६ हजार २८ पुगेका छन्। अघिल्लो वर्ष माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ३६ हजार ५२४ रहेका थिए। माघसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढेर १८ लाख ३५ हजार ८४९ पुगेका छन्। अघिल्लो वर्ष माघसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ६४ हजार ८०१ रहेका थिए।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने