त्रिकोणात्मक टी-२० सिरिजको फाइलनमा नेपाल र पिएनजी

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । त्रिकोणात्मक अन्तरराष्ट्रिय टी–२० शृंखलाअन्तर्गत आजै (मंगलवार) भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँग भिड्ने भएको छ। आज भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनल पुगेको थियो।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्‍यो। जितसँगै पपुवा न्युगिनीले २ खेलबाट २ अंक जोड्यो। हङकङ २ खेलबाट १ अंकका साथ फाइनल पुग्नबाट वञ्चित भयो। २ खेल खेलेको नेपालले ३ अंक जोड्दै शीर्षमा रहेर फाइनल पुगेको हो।

यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। नेपाल-पपुवा न्युगिनीबीचको फाइनल खेल भोलि (बुधवार) हुनेछ। हङकङले जितका लागि दिएको १२२ रनको लक्ष्य पपुवा न्युगिनीले १२ ओभर ४ बलमा कुनै विकेट नै नगुमाइ पूरा गर्‍यो।

पपुवा न्युगिनीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए। टोनी उराले ३३ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ५१ रन बनाए। टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२१ रनमात्र बनाएको थियो।

हङकङका लागि जिसान अलीले २९ बलमा ६ चौका र १ छक्काको मद्दतले ५५ रन बनाए। नस्रुल राना र एहसान खानले १६/१६ रन जोडे भने बाबर हयातले १२ रन बनाए। पपुवा न्युगिनीका काबुआ मोरिया, अली नाओ, कप्तान असद भाला र सेसे बाउले २/२ विकेट लिए।

Related posts

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट