भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध मार्च ३१ सम्म नै रहने 

काठमाडौं । भारतले प्याजमा लगाएको प्रतिबन्ध आगामी मार्च ३१ सम्म नै कायम रहने भएको छ।

केही दिनअघि भारत सरकारले नेपाल, बंगलादेश, श्रीलंका, मौरिसस, बहराइन र भुटानमा निश्चित कोटासम्म प्याज निर्यात खुला गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए।

यी खबर आएसँगै प्रतिबन्ध कायम राखेर किसानलाई मर्कामा पारेको र व्यापारीलाई पोसेको आरोप भारतका अन्य दलले सरकारलाई लगाइरहेका थिए।

यससँगै भारतको केन्द्र सरकारले प्याजमा लगाइएको प्रतिबन्ध मार्च ३१ सम्म कायमै रहने स्पष्ट पारेको छ। उपभोक्ता मामिला सचिव रोहित कुमार सिंहले यस्तो प्रतिबन्ध कायमै रहेको भारतीय सञ्चारमाध्यम विजनेशलाइनलाई उल्लेख गरेका छन्।

भारतले सन् २०२३ डिसेम्बर ८ देखि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतमा ४ लाख ३२ हजार हेक्टरमा प्याज खेती गरिएको छ। करिब ८६ लाख टन प्याज उत्पादन हुने अनुमान गरिएको छ। प्रतिबन्ध कायमै रहेमा प्याजको मूल्य थप घट्ने र किसान मर्कामा पर्ने भन्दै अन्य दलले विरोध गरिरहेका हुन्।

नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज र ७ करोडको सुकाएको प्याज आयात हुँदै आएको थियो।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो