अर्थतन्त्रलाई गतिशील बनाउन भरमग्दुर प्रयास भइरहेको छ : अर्थमन्त्री

पाटन। नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन्। यद्यपि उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे।

ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थ मन्त्रालयको कार्यभार सम्हालेका डा महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई काँग्रेसले आत्मसात् गर्ने प्रतिबद्धता दोहोर्‍याए।

अर्थमन्त्रीले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नीतिको पक्षमा काँग्रेस अडिग रहेको बताए। उनले देशको अर्थतन्त्रलाई गतिशील बनाउन भरमग्दुर प्रयास भइरहेको बताए।

आर्थिक वर्ष ८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषय कार्यान्वयन क्रममा रहेका जानकारी दिँदै उनले भने, ‘परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने व्यवस्था मिलाइएको छ।’

उनले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमा थालिएको उल्लेख गरेका छन्। उनले भने, ‘जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा ऋण परिचालन गर्न सुरु गरिएको छ।’

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…