म्याग्दीमा यस वर्ष २० करोडको सुन्तला व्यापार

बेनी । म्याग्दीमा यस वर्ष बीस करोड रुपैयाँको सुन्तलाको कारोबार भएको छ । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो । कृषि ज्ञान केन्द्र म्याग्दी केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष बीस करोड मूल्य बराबरको सुन्तलाको कारोबार भएको जानकारी दिए ।

‘८१० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा ४२० हेक्टरको बोटले उत्पादन दिन्छ,’ उनले भने, ‘प्रतिहेक्टर ८।६ मेट्रिक्टनका दरले उत्पादन भएको सुन्तला प्रतिकिलो ५५ देखि ६० रुपैयाँमा बिक्री हुदा बीस करोड रुपैयाँको कारोबार भएको छ ।’

उत्पादकत्व घटे पनि नयाँ बिरुवा थपिएको र क्षेत्रफल विस्तार भएकाले समग्रमा गत वर्षकै हाराहारीमा सुन्तला उत्पादन भएको बास्तोलाले बताए। अघिल्लो वर्ष ४०० हेक्टरमा चार हजार मेट्रिक्टन सुन्तला फलेको थियो । यसपाली २० हेक्टर क्षेत्रफलमा फल दिने सुन्तलाका नयाँ बोट थपिएका केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सुन्तला जोनका प्राविधिकहरुले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ बिधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । मंगला गाउँपालिकाको कृषि शाखाले एक करोड ६० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको जनाएको छ ।

बेनी नगरपालिका–३ को बाट दुई करोड, वडा नम्बर ४ बाट एक करोड पाँच लाख, मालिका गाउँपालिका–७ बिमबाट एक करोड, अन्नपूर्ण गाउँपालिका–६ बाट ४५ लाख रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको कृषक समूह र जनप्रतिनिधिले जानकारी दिएका छन् ।

अन्य ठाउँबाट निकासी भएको सुन्तलाको विवरण संकलन भइरहेको कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सम्झना आचार्यले बताइन् । ‘मंसिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो,’ उनले भनिन् ‘अधिकांश बगैचाको सुन्तला निकासी भइसकेको छ । पालिकाको कृषि शाखाबाट विवरण आउने क्रम जारी छ ।’

म्याग्दीमा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौ, पोखरा, मुग्लीन लगायतका बजारमा निकासी भएको बेनी नगरपालिका–३ राखुका कृषक खिम पुनले बताए ।

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैचा छन् । यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैचामै पुगेका छन् ।

सुन्तला टिपेर बजार पठाएपछि कृषकहरु बगैचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिचाई गर्ने, मल्चिङ गर्ने, वोडोपेष्ट लगाउने र हाँगा काटछाँट गर्न थालेका हुन् । सुन्तला खेती विस्तार, बगैचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापना सम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फर्म, समूह र सहकारीका लागि ६२ लाख रुपैयाँ अनुदान दिन छनौट गरेको जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने