अर्थमन्त्री भन्छन् : आन्तरिक स्रोतबाट राज्यका दायित्व धान्नै नसक्ने अवस्था आयो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताएका छन् ।

नेपाल व्यवस्थापन सङ्घले ललितपुरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताए । उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको उल्लेख गरे ।

अर्थमन्त्रीले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताए । द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको उनले बताए । नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतको भनाइ छ ।

उनले भने, ‘सामाजिक सुरक्षामा हामी दक्षिण एसियामा अन्य देशभन्दा माथि छौँ । भारत, बङ्गलादेशभन्दा माथि छौँ । हामीले उदारताका साथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गरिसकेका छौँ । ज्येष्ठ नागरिक भत्तादेखि लिएर अनेकन अनुदानका विषयहरू सुनिश्चित गरेका छौँ । सुरक्षा निकायको आकार पनि द्वन्द्वपछि दोब्बर नै भयो । सशस्त्र प्रहरी छुट्टै गठन भयो । कर्मचारीतन्त्र पनि ठूलै छ । यी कारणले गर्दा आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको छ ।’

सङ्घीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढ्दा आन्तरिक स्रोत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्व धान्न कठिन हुँदै गएको महतले बताए ।

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…