तीन दिनमा राष्ट्र बैंकले तान्यो ७० अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा तरलता धेरै भएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले हरेक दिन बजारबाट पैसा झिक्न लागेको छ । सोही क्रममा पछिल्लो तीन दिन माघ १६, १७ र १८ गते मात्र करिब ७० अर्ब रुपैयाँ झिकेको छ ।

जसअनुसार निक्षेप संकलन उपकरणमार्फत गत मंगलबार २० अर्ब र बुधबार ३० अर्ब रुपैयाँ झिकेको राष्ट्र बैंकले बिहीबार आज थप २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले फेरि बजारबाट पैसा झिक्न थालेको हो । हालको व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो ।

यसका लागि बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्ह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने