तत्काल वर्षाको सम्भावना छैन : मौसमविद्

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज र भोलि देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुका कारण पर्सि बुधवारदेखि सुदूरपश्चिमी क्षेत्रका पहाडी भेगमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना भए पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताए । पर्सि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने उनको भनाइ छ ।

यस्तै, तराई मधेसमा बिहानपख लाग्ने बाक्लोे हुस्सु र कुहिरो दिउँसोपछि बिस्तारै हट्दै जान थालेको छ । यसले गर्दा तराईमा चिसो केही कम हुने मौसमविद्को भनाइ छ ।

तराईमा लामो समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । तीव्र गतिको हावा चलेमा, पानी परेमा वा घाम लागेर तापक्रम बढेमा हुस्सु र कुहिरो हट्दै जाने मौसमविद्ले बताएका छन् ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा दशमलव ९ डिग्री सेल्सियसले बढेर ३ डिग्री पुगेको छ । हिजो काठमाण्डौ उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो ।

Related posts

आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका “आँखालाई माया गर्नुहोस्” लोकार्पण

डोल्पामा हिमाली रङ्गशाला बनाउँछौँ : मन्त्री बुढा

होलीको दिन काठमाडौंसहित पहाडी भूभागमा यस्तो रहनेछ मौसम