सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । अब उनीहरु पनि विश्वभरका प्रहरीका फरार सूचीमा रहनेछन् ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत शुक्रबार डिफ्युजन नोटिस जारी गरेको सूचना आएको थियो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले सहकारीका वर्तमान अध्यक्ष बुढामग र पूर्व अध्यक्ष राईविरुद्ध पनि नोटिस जारी भएको बताए ।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका जिबी राई सहित वर्तमान र पूर्वअध्यक्षविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो ।

जिबी राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

रकम हिनामिनाबारे सुरुमा पोखरा महानगरपालिकाले छानबिन गरी थप अनुसन्धानका लागि कास्की प्रहरीमा जाहेरी दिएको थियो । महानगरको छानबिनकै क्रममा अभियुक्तमध्येका कतिपय सम्पर्कविहीन बनेका थिए ।

Related posts

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो