यी हुन् ६ महिनामा अर्ब माथिको निर्यात हुने १७ वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसमध्ये १७ वटा वस्तु मात्रै ५५ अर्ब ८० करोड बराबरको निर्यात भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार ६ महिनाको अवधिमा एक अर्ब निर्यात नाघ्नेको सूचीमा यी १७ वस्तु छन्।

सबैभन्दा बढी निर्यात आइरन–स्टिलका उत्पादनको भएको छ। साउनदेखि पुस महिनाको अवधिमा ६ महिनाको अवधिमा आठ अर्ब ६९ करोड रूपैयाँ बराबरको आइरन स्टिल निर्यात भएको छ।

गत वर्षको पहिलो ६ महिनाको तुलनामा आइरन स्टिलको निर्यात ८३ प्रतिशतले बढेको छ। समग्र निर्यात व्यापारमा यस्तो वस्तुको योगदान ११.६ प्रतिशत पुगेको छ।

धागोको निर्यात पाँच अर्ब ८३ करोड रूपैयाँको भएको छ। गत वर्षको तुलनामा धागोको निर्यात तीन प्रतिशतले घटेको छ। समग्र निर्यात व्यापारमा यस्तो वस्तुको योगदान ७.७९ प्रतिशत पुगेको छ।

उलन कार्पेटको निर्यात पाँच अर्ब २३ करोड र तयारी गार्मेन्टको निर्यात चार अर्ब ९७ करोड पुगेको छ। तयारी कार्पेटको निर्यात गर्त वर्षको तुलनामा १६ प्रतिशतले बढेको छ।

अलैँचीको निर्यात तीन अर्ब ९० करोड पुग्दा जुसको निर्यात तीन अर्ब ८० करोड, प्लाइ उडको निर्यात तीन अर्ब ५३ करोड पुगेको छ। गत वर्षको ६ महिनामा प्लाइ उडको निर्यात एक अर्ब ७४ करोड बराबरको मात्रै भएको थियो।

प्लाइ उडको निर्यात दुई वर्षअघिबाट मात्रै हुन थालेको हो। चालु वर्षको ६ महिनामा पाम आयलको निर्यात दुई अर्ब ७२ करोडको भएको छ। गत वर्ष भने यो समयमा पामको निर्यात १३ अर्ब २० करोडको भएको थियो।

फेल्टको उत्पादन ६ महिनामा दुई अर्ब ४७ करोड, चियाको निर्यात दुई अर्ब १४ करोड, सिमेन्ट क्लिंकर एक अर्ब ७६ करोड, पश्मिनाको निर्यात एक अर्ब ६९ करोडको पुगेको छ।

कुकुर बिरालोको खाद्य सामग्री एक अर्ब ४१ करोड, कपडा एक अर्ब २४ करोड, मेडिकल हर्वल एक अर्ब २२ करोड रूपैयाँको निर्यात भएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने