सर्वोत्तम आईपीओ : वैदेशिक काेटामा ८ गुणा धेरै आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि एकै दिन प्राथमिक सेयर (आईपीओ) खुलाएको थियो ।

माघ १० गतेसम्म आवेदन दिने समय तोकिएकोमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८.६ गुणा धेरै आवेदन पर्‍यो । तर त्यहीं कम्पनीको आईपीओ प्रभावित स्थानीयका हकमा भने पूर्ण रुपमा बिक्री नभएपछि माघ २५ गतेसम्म अवधि थप गरिएको छ । थपिएको अवधिसम्म पनि प्रभावित स्थानीयका लागि छुट्याइएको सम्पूर्ण ९ लाख ३० हजार कित्ता सेयर बिक्न मुस्किल पर्ने देखिन्छ ।

वैदेशिक रोजगारमा जानेहरुका लागि २ लाख ६७ हजार कित्ता सेयर खुलाइएकोमा अन्तिम दिनसम्म बुधबार साँझ ५ बजेसम्म २३ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ । स्थानीय प्रभावितका लागि छुट्याइएको सेयर बिक्री नहुनुमा धितोपत्र बोर्डले राखेको ३ वर्षको लकइन पिरियड नै प्रमुख बाधक रहेको पाइएको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ खुलिरहेको स्थान पाल्पा रिब्दिकोट ३ का धनबहादुर आलेले भने ‘अहिले लगानी गरेर, त्यो पैसा ३ वर्षसम्म बन्धक बन्ने रहेछ, त्यहीं भएर धेरैले आईपीओ भर्ने चाहना देखाएनन् ।’

सर्वोत्तम मात्रै होइन, यसअघि शिवम्, घोराही, सोनापुर सिमेन्टको पनि आईपीओ पूर्ण रुपमा बिक्री नभएको दृष्टान्त छन् । प्रभावित स्थानीयले सेयर पाए पनि सो सेयर ३ वर्षसम्म बेच्न नपाउनेगरी जबरजस्त गरिएको व्यवस्थाले स्थानीयको रुची कम हुन गएको हो । आम सर्वसाधारणलाई सेयर बाँडफाँट भएको ३ वर्षपछि मात्रै प्रभावितले सेयर बेच्न पाउनेगरी लकइन अवधि राखिएको छ । तर वैदेशिक रोजगारमा रहेका र आम सर्वसाधारणले भने तुरुन्तै सेयर बेच्न पाउँछन् ।

सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले पनि प्रभावित स्थानीयका लागि लकइन पिरियड राखिनुले पनि समयमै सेयर बिक्री नहुने गरेको बताए । ‘मुख्य समस्या नै लकइन पिरियड राखिनु हो, गाउँँघरमा पैसा जुटाएर सेयरमा हाल्नुपर्ने हुन्छ, तर त्यो पैसा ३ वर्षसम्म बन्धक हुने भएपछि पनि रुची कम भएको हो’ आचार्यले भने । प्रभावित स्थानीयका लागि लकइनको व्यवस्था हटाउनुपर्ने उनको भनाई । ‘स्थानीयले भर्ने सेयर थोरै थोरै मात्रामा हुन्छ, त्यसकारण उनीहरुका लागि लकइन अवधि हटाए हुन्छ’ उनले भने ।

प्रभावित स्थानीयको सेयरमा लकइन अवधि हटाउँदा आफूहरूलाई कुनै अप्ठेरो नरहेको बताउँछन् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० अध्यक्ष गणेश कार्की । ‘स्थानीयले पनि यो लकइन हटाउन भनेर सुझाव दिने गरेका छन्,’ उनी भन्छन्, ‘हामीले यसअघि बोर्डलाई पनि प्रस्ताव गरेका हौं । तत्कालीन अध्यक्ष रमेशकुमार हमाल सकारात्मक हुनुहुन्थ्यो, अब नयाँ अध्यक्षले प्रभावितको सेयरमा लकइन हटाउन पहल गर्नुपर्छ ।’

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने