लाभांशको रूपमा छ महिनामा १ अर्ब ५३ करोड बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्षको छ महिना १ अर्ब ५३ करोड रुपैयाँ लाभांशको रूपमा बाहिरिएको छ । फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) को रूपमा भित्रिएका विदेशी कम्पनीहरूको लगानीबाट खुलेका कम्पनी, उद्योग तथा फर्महरूमार्फत पुस मसान्तसम्म कूल १ अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ मुनाफा बाहिरिएको उद्योग विभागले जनाएको हो ।

यस्तो मुनाफा अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा १० अर्ब ९९ करोड ८९ लाख ९ हजार रुपैयाँ बाहिरिएको थियो । तुलनात्मक रूपमा यो वर्ष ८६.०३ प्रतिशतले मुनाफामा गिरावट आएको हो । यद्यपि अघिल्लो वर्षको तुलनामा यो वर्ष लगानी प्रतिबद्धता भने बढ्न पुगेको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ सय २६ वटा परियोजनाका लागि २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सोमध्ये २८ परियोजनाका लागि ४ अर्ब १ करोड ३ लाख ९ हजार रुपैयाँ सेयर खरिद तथा साझेदारीबापत प्रतिबद्धता आएको छ भने ३१ परियोजना प्रविधि हस्तान्तरणसम्बन्धी सेवा क्षेत्रमा आएको छ ।

औद्योगिक क्षेत्रमा हालसम्म ६ हजार ८५ परियोजनाका लागि ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता पुगेकोसमेत विभागले जनाएको छ । यस्तो लगानीमार्फत ३ लाख २१ हजार २६४ जनालाई रोजगारी प्रदान गरिएका समेत विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने