बैंकहरूले प्रोडक्ट बेस कर्जालाई प्राथमिकता दिनुपर्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरूले धितोबेस कर्जाभन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

काठमाडौंमा बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताए। उनले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताए। उनले बैंकहरू पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताए।

अब बैंकहरूले पनि धितोबेस कर्जाभन्दा पनि प्रोडक्ट अर्थात् आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याए। अर्थमन्त्री डा.महतले बैंकहरूले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताए।

उनले प्रोजेक्टबेस कर्जामा बैंकहरू जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गरे। मन्त्री डा.महतले मुलुकको अर्थतन्त्र ०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गरे। तर, ०७९/८० भन्दा सुधार अवस्थामा पुगे पनि सरकारले सोचेजस्तो नभएको स्वीकार गरे।

उनले मुलुकको आवश्यकताहरू धेरै तर सरकारसँग साधन स्रोतहरू थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकीकरण नपुगेको बताए।

उनले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताए। उनले सरकारको प्राथमिकता प्राथमिकीकरण गरेर काम गर्ने गरेको उल्लेख गरे।

सीमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने वर्तमान अवस्थामा चुनौती रहेको बताए।

उनले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताए।
उनले पर्यटन आगमन वृद्धि भएसँगै होटल वृद्धि भइरहेको भन्दै बैंकले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताए।

उनले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरहेको बताए। उनले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताए। उनले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्यांक भएकाले अब लगानी पनि बढ्ने अपेक्षा रहेको बताए।

Related posts

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट