लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि १३ अर्ब छ करोड १४ लाख रुपैयाँ लक्ष्य तोकेकामा पुस मसान्तसम्म आठ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ सङ्कलन भएको जनाएको छ ।

गत आवको यही अवधिमा आठ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सो वर्ष छ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख रुपैयाँ लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ एक अर्ब २० करोड ९२ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ छ अर्ब ६५ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ ८४ करोड सात लाख रुपैयाँ, ब्याज कर पाँच करोड ७८ लाख रुपैयाँ, घरबाहल कर एक करोड ९५ लाख रुपैयाँ र स्वास्थ्य सेवा कर ९३ लाख २५ हजार रुपैयाँ सङ्कलन भएको भट्टराईले जानकारी दिए । उनका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ ।

आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको हो । भट्टराईले भने, ‘अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ ।’ युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व सङ्कलनमा कमी भएको उनले बताए । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता रहेका छन् । रासस

Related posts

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

यो वर्ष दशैंमा नयाँ नोट नपाइने, वार्षिक १ अर्व वचत गर्दै राष्ट्र बैंक