बढ्न थाल्यो घरजग्गा कारोबार, पुसमा मात्रै उठ्यो ३ अर्ब रुपैयाँ राजस्व

काठमाडौं । सरकारको अस्थिर नीतिका कारण पछिल्लो २ वर्षदेखि कम भएको घरजग्गा कारोबार अब बढ्न थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गएको पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मङ्सिरको तुलनामा पुसमा राजस्व सङ्कलन ६५ करोड रुपैयाँले धेरै हो । चालु आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

पुसमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएको छ । मङ्सिरको तुलनामा पुसमा लिखत पारित ३ हजार ४ सय २६ वटाले बढी हो ।

सरकारको कित्ताकाट नीति र जग्गाको वर्गीकरण तथा विभिन्न कानुनी अन्योलका कारण पछिल्लो २ वर्षदेखि घरजग्गा कारोबार खुम्चिँदै आएको थियो । तर अहिले कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो ।

सरकारले गएको साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । त्यस्तै घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाएको थियो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने