राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मल्ल निर्विरोध, पहिलो पटक नेतृत्वमा महिला

काठमाडौं। राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन्। महासंघको ३१औँ वार्षिक साधारणसभाबाट मल्ल नेतृत्वमा आएकी हुन्।
शुक्रबार साधारणसभामा मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी परेको थियो। सहकारी महासंघले ३० वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको हो। मल्ल महासंघको सञ्‍चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएकी हुन्।

लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील मल्ल नेपालका तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्‍चालक सदस्य बन्‍ने पहिलो नेपाली पनि हुन्। उनी अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्‍चालक पनि हुन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल निर्विरोध भएका छन्। राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष पोखरेल महासंघको सञ्‍चालक, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भएका हुन्।

खुल्लातर्फको २ उपाध्यक्षका लागि ३ जनाको उमेदवारी परेको छ। खेमबहादुर पाठक, डीबी बस्नेत र शेषकान्त गौतमको उम्मेदवारी परेको निर्वाचत समितिले जनाएको छ। महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध भएकी छन्।

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…