बागलुङका किसानले फलाए २० करोड रुपैयाँको सुन्तला

गलकोट । बागलुङमा यस वर्ष २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कूल ३४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।

कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष ३ हजार ९२० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ ।

कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले रु २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए ।

‘गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क निकालेका छौँ, नमुनाकारुपमा सङ्कलन गरिएको तथ्याङ्कमा औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले सुन्तला उत्पादन घटेको छ, यद्यपि सुन्तला गाउँका रुपमा रहेको सिगानामा सुन्तला उत्पादन वृद्धि भएको छ, बिहुँ, सर्कुवालगायतका गाउँमा सुन्तला उत्पादनमा कमी आएको हो’, पुनले भने, ‘उत्पादनको ७५ प्रतिशत सुन्तला किसानले बिक्री गर्ने गरेका छन्, सिगानामा क्षेत्रगत औँसा किसान नियन्त्रण कार्यक्रम सञ्चालित छ, यो कार्यक्रम जिल्लाभर पुर्‍याउने ज्ञानकेन्द्रको लक्ष्य रहेको छ ।’

बागलुङको सुन्तला चितवन, काठमाडौं, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताए। बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् ।

खड्काका अनुसार पछिल्लो ५ वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन्। ५ वर्षपछि सिगाना गाउँबाट मात्रै ५ करोड रुपैयाँको सुन्तला बिक्री हुने उनले बताए। ‘सिगानाको सुन्तलाको माग बढेको छ, जिल्लामा सुन्तलाको उत्पादनमा २५ प्रतिशत योगदान सिगानाको मात्रै छ’, खड्काले भने, ‘पहिला डोकोमा बोकेर सुन्तला बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्ने थियो, अहिले सिधै पोखरा र काठमाडौँका व्यापारी सुन्तला बगानमै खरिद गर्न आउँछन्, किसानलाई निकै सहज भएको छ ।’

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने